
म्याग्दी, २४ मंसिर– म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको वृद्धाश्रमलाई जापानमा रहेका प्रवासीले करिब रु १५ लाख ५० हजार सहयोग गरेका छन् ।
म्याग्देली सञ्जाल जापानले निर्माणाधीन ज्येष्ठ नागरिक आश्रमलाई सो सहयोग गरेका हुन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम व्यवस्थापन समितिलाई उक्त रकम उपलब्ध गराएको सञ्जालका अध्यक्ष महेन्द्र खड्काले बताए ।
आवास भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले म्याग्देली सञ्जाल जापानले गत सेप्टेम्बर २३ तारिखका दिन टोकियोमा एक साङ्गीतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गरेको थियो ।
गलेश्वरमा एनआरएन बेलायतको रु ७५ लाख लगानीमा वृद्धाश्रम भवन निर्माण भइरहेको छ । निर्मित भवनमा वृद्धाश्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार जुटाउन र व्यवस्थापनका लागि सहयोग गरेको सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाले बताए ।