
काठमाण्डु, २४ मंसिर–पछिल्लो समय बढेका अपराधले नेपाली समाज क्रूर र निर्दयी हुँदै गएको देखाएको छ । नजिकका आफन्तबाट नै हत्या र बलात्कारका घटना बढ्न थालेका छन् ।
काठमाण्डुको डल्लुमा सोमबार दिउँसो अत्यन्तै क्रूर तरिकाले एक युवकले एक वृद्धाको हत्या गरेका छन् । प्रहरीका अनुसार काभ्रे घर भई डल्लु बस्दै आएका छिरिङ लामाले योजनाबद्ध रुपमा पशुलाई जस्तै गरी हजुरआमा दामु तामाङको घाँटी काटेर हातमा टाउको बोकेर हिँडेका हुन् ।
उपचारका लागि काठमाण्डु आएकी दामुले आफूलाई ठूला आँखा बनाएर हेर्ने गरेको र भूतजस्तै लाग्ने गरेकाले त्यसरी हत्या गरेको छिरिङले बयान दिएका छन् ।
महागरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी पदमबहादुर विष्टका अनुसार हत्यापछि छिरिङले कुनै पछुतो मानेनन् । बरु मन शान्त भएको प्रहरीलाई बताएका थिए ।
डल्लु घटनाको २४ घन्टा नबित्दै उदयपुरमा मंगलबार बिहान यस्तै घटना भयो सामान्य विवादमा उदयपुर बेल्टारका कमानसिंह राईले बाँसको चिर्पटले टाउकोमा हानेर हजुरआमाको हत्या गरे ।
प्रहरीले मोरङमा आफ्नै श्रीमानको हत्या गर्न लगाउने देउमाया कटवाललाई सोमबार पक्राउ गरेको छ । सम्पत्तिको लोभमा उनले अपराधीलाई ५० हजार रुपैयाँ दिएर श्रीमान्को हत्या गर्न लगाएको अनुसन्धानपछि खुलेको छ ।
नयाँ पत्रिका दैनिकबाट