नवलपरासी, २४ मंसिर–शिक्षकले मानसिक तनाव दिएका कारण सहपाठीले आत्महत्या गरेको भन्दै कावासोती नगरपालिका– २ स्थित सेन्ट जोसेफ बोर्डिङ स्कुलका विद्यार्थीले मंगलबार विरोध प्रदर्शन गरेका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आरएन विकले आत्महत्या गरेका हुन् ।
विकलाई सोमबार विद्यालय बोलाएर शिक्षकले बदनाम हुनेगरी गालीबेइज्जती गरेपछि साथीले आत्महत्या गरेको विद्यार्थीको आरोप छ ।
सोही कक्षामा अध्ययनरत सुजन बस्नेतलाई लाइनमा राखी लठ्ठीले हानेर शिक्षकले हात भाँचेको विद्यार्थीको आरोप छ । उक्त विद्यालयका सञ्चालक दीपक लम्साल प्याब्सनका अध्यक्षसमेत हुन् ।
यसअघि पनि शिक्षकहरुले विद्यार्थीलाई अनावश्यक रुपमा मानसिक र शारीरिक यातना दिने गरेको विद्यार्थीको आरोप छ । दुवै घटनाका दोषी शिक्षकलाई कारबाहीको माग गर्दै नाराजुलुससहित विद्यालयबाट निस्केका विद्यार्थीले केहीबेर राजमार्गसमेत अबरुद्ध गरेका थिए ।
विद्यार्थीको आन्दोलनका कारण विद्यालयको पठनपाठन सोमबारदेखि अवरुद्ध छ । मृतक विद्यार्थीको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
अन्नपूर्णपोस्ट दैनिकबाट