
काठमाण्डु, २३ मंसिर– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक सवारी यातायातमा व्याप्त बिक्रिती रोक्न आन्दोलन गर्ने भएका छन् ।
त्यसका लागि सार्वजनिक यातायात प्रयोगकर्तासहित सम्बद्ध सबै पक्षसँग आफूले छलफल गरिरहेको श्रेष्ठले जानकारी दिए ।
सवारी दुर्घटनामा दिनहुँ सर्वसाधारणको ज्यान जाने गरेको भन्दै त्यसलाई रोक्न दबाबमुलक आवश्यक रहेको निष्कर्षमा आफू पुगेको उनले बताए ।
‘सार्वजनिक यातायातमा बढेको अस्तव्यस्तता र लापरबाहीका कारण पछिल्लो तीन महिनामा मात्र तीन सयभन्दा बढीको ज्यान गएको छ’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘यसलाई रोक्न गैरराजनीतिक आन्दोलन जरुरी रहेको निष्कर्षमा म पुगेको छु ।’
उनले सवारी दुर्घटनालाई दुर्घटना मान्न आफू तयार नहरेको तर्क गरे । ‘यो कुनै दुर्घटना होइन’, श्रेष्ठले भने, ‘सरकारी लापरबाही र गैरजिम्मेवारीले पराकाष्ठा नाघेका कारण भइरहेका दु:खद मृत्यु हुन् ।’
श्रेष्ठले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन दबाब दिने आन्दोलनमा सहभागी हुन चाहनेले आफूलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
उनले अभियानका लागि राजनीतिककर्मी, संघसंस्था र सरोकारवालाहरुको छिट्टै भेला गर्न लागिएको बताए ।
यद्यपि कुनै राजनीतिक पार्टी वा संस्थाको व्यानरमा नभई नागरिकहरुको स्वतस्फुर्त आन्दोलानका रुपमा अघि बढाउने चाहेको उनले प्रष्ट्याए ।
श्रेष्ठ पछिल्लो केही महिनायता निजी गाडी छाडेर सार्वजनिक यातायातमा यात्रा गर्दै आएका छन् ।