काठमाण्डु, २३ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुलुकको राजनीतिक संवेदनशीलतालाई
विचार पुर्याएर उपयुक्त समयमा ‘ठूलो माछा’ लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७१ का अवसरमा आयोग केन्द्रीय कार्यालयमा मंगलबार आयोजिक कार्यक्रममा उनले जनस्तरबाटै भ्रष्टाचार नियन्त्रण अभियामना सघाउन आग्रह गरे ।
आयोगले खरिदार, मुखिया, नासु र शिक्षकलाई मात्रै कारबाही गर्ने र ठूलाबडालाई केही गर्न सक्दैन भन्ने गुनासो आइरहेका बेला उनले ठूला माछा समात्ने अभियानमा आफू लागेको बताएका हुन ।
जनता र समाजले ‘ठूलो माछा’लाई कारबाहीको दायरामा ल्याउन आयोगलाई झक्झकाइरहेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख आयुक्त कार्कीले त्यस्ता एक हजारभन्दा बढी व्यक्तिमाथि आयोगले अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनले नेपालको कर्मचारीतन्त्र अनुशासनहीन, गैरजिम्मेवार र ‘चेन अफ कमान्डबाहिर गएको आरोप लगाए ।