ओलीले खुट्टा उचालेका बेला एमालेकै नेता भन्छन्, ‘सरकार फेर्नु अनुचित’

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ९:२३ मा प्रकाशित

Pradip-Gyawaliकाठमाण्डु, २३ मंसिर– अध्यक्ष केपी ओली सत्ता परिवर्तनको खेलमा सक्रिय भइरहेका बेला एमाले नेता प्रदीप ज्ञवालीले भने सरकारको परिवर्तनको बहस अनुचित भएको बताएका छन् ।

रिपोर्टर्स क्लबले मंगलबार राजधानीमा गरेको कार्यक्रममा ज्ञवालीले सरकार परिवर्तन गर्न नहुने बरु वर्तमान सुशील कोइराला नेतृत्वकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने बताए ।

‘अहिले सरकार परिवर्तनको कुरा गर्नु उचित होइन’, ज्ञवालीले भने, ‘बरु माघ ८ गतेभित्रै संविधान जारी गर्ने सर्तमा अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुप दिन सकिन्छ ।’ उनले ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने कुरा हाउगुजी मात्र भएको प्रष्टयाए ।

ज्ञवालीले माघ ८ गतेभित्र जसरी पनि संविधान जारी गर्नु पर्नेमा जोड दिँदै अन्यथा राजनीतिक दलहरुको वैधता समाप्त हुने चेतावनी दिए । ‘हिन्दू राष्ट्र बनाउने कुरा जोडतोडले उठ्न थालेको छ’, उनले भने, ‘ माघ ८ मा संविधान जारी गर्न दलहरु गम्भीर नभए उनीहरुको वैधतामै प्रश्न उठ्न सक्छ ।’

ज्ञवालीले दलहरुबीच संघीयतामा सहमति नभए नामाङ्कनको जिम्मेवारी प्रदेश सभालाई दिन सकिने बताए ।

कार्यक्रममा काँग्रेस प्रवक्ता दिलेन्द्र बडुले दलहरुबीच सहमति नभए प्रक्रियाबाटै माघ ८ मा संविधान आउने दाबी गरे । उनले दलहरुले जनतासँग गरेको प्रतिबद्धता बिर्सन नहुने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us