बाबुरामको ‘पूजा’ले कमल थापा प्रशन्न

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ६:३२ मा प्रकाशित

baburam

काठमाण्डु, २३ मंसिर– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसादको चौरासी पूजा गरेकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रसन्नता व्यक्त गरेका छन् । अध्यक्ष थापाले आफ्नो ट्वीटरमा डा. भट्टराईले पितासँगै पूजामा बसेको फोटो सेयर गर्दै खुशी व्यक्त गरेका हुन् ।
‘यो तस्बिर देख्दा खुशी लाग्यो,’ कमल थापाले ट्वीटमा लेखेका छन्, ‘यही पहिचान रक्षाका लागि हामीले आजाव उठाएका हौं, जसलाई समाप्त पार्न अहिले संगठित प्रयास भइरहेछ ।’
थापा नेतृत्वको राप्रपा नेपालले राजतन्त्रको पुनस्थापना र हिन्दु राज्य स्थापनाको मुद्दा उठाउँदै आएको छ । सो दल संविधान सभाको दोस्रो निर्वाचनमा पनि यही मुद्दा लिएर गएको थियो । डा. बाबुराम भट्टराई भने पहिचानसहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी राज्य निर्माणको मुद्दा उठाइरहेको कम्युनिस्ट पार्टीका नेता हुन् ।
डा. भट्टराई शनिबार पुख्र्यौली घर गोरखाको खोप्लाङमा भएको पिता भोजप्रसाद भट्टराईको चौरासी पूजामा सहभागी हुन नेतृ तथा पत्नी हिसिला यमिसहित पुगेका थिए ।
कमल थापा र डा. भट्टराई अमृत साइन्स कलेजमा सँगै विज्ञान विषयका विद्यार्थी समेत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us