समयमै मुद्दाको फैसला नहुँदा करौडौंको काठ नष्ट हुँदै

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ३:२४ मा प्रकाशित

इलाम, २३ मंसिर– इलामको दक्षिणी सेक्टर वनअन्तर्गत गजुरमुखी इलाका वन कार्यालयले विभिन्न समयमा बरामद गरेको सवारीसाधनसहित पाँच हजार दुई सय २० क्युफिट काठ लिलाम बिक्री नहुँदा सड्ने अवस्थामा पुगेको छ ।

इलाका वन कार्यालयले आव २०६८/०६९ देखि हालसम्म बरामद गरेको बहुमूल्य काठको लिलाम बिक्री नहुँदा नष्ट हुने अवस्थामा पुगेको हो । बस, ट्रक, टयाक्टर पाँच वटा, पिकअप, मोटरसाइकल दुई र दुई वटा साइकल पनि जीर्ण बन्दै गएका छन् । काठ लिलाम नहुँदा करिब ७० लाख बराबरको काठ सड्ने अवस्थामा पुगेको इलाका वन कार्यालयका प्रमुख वाशिष्ठनारायण मिश्रले बताए ।

कार्यालय परिसरमा वन गस्ती टोलीले विभिन्न समयमा बरामद गरेको काठ तथा सवारीसाधन जीर्ण बनेका छन् । जिल्ला वन कार्यालय र जिल्ला अदालतमा काठ तस्करीको अभियोगमा ३६ वटा मुद्दामा एक सय ४८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अदालत तथा जिल्ला वन कार्यालयबाट मुद्दा फैसला ढिलो हुँदा बरामद गरिएका काठ र साधन लिलाम बिक्रीमा समस्या उत्पन्न भएको मिश्रले बताए ।

बरामद गरेको साल, सिसौलगायत बहुमूल्य प्रजातिको रूखको गोलिया तथा चिरानका एक हजार एक सय १० थान काठ सड्न लागेको छ । आर्थिक वर्ष २०६८/०६९ मा बरामद गरिएको एक हजार एक सय ९० थान काठ वन कार्यालय परिसरमै थन्किएको छ । त्यस अवधिमा नियन्त्रणमा लिइएको एउटा ट्रक, एउटा महेन्द्र पिकअप, चार वटा टयाक्टर र दुई थान मोटरसाइकल इलाका वन कार्यालयको परिसरमा थन्किएको प्रमुख मिश्रले जानकारी दिए ।

बरामद भएका काठ तथा सवारीसाधनको वास्तविक मूल्य कति हो भन्ने तथ्यांक कार्यालयमा छैन । सवारीसाधनसहित रु पाँच करोडभन्दा बढीको सामान रहेको उनले बताऐ । कार्यालयमा पाँच वर्षदेखिको काठ छन् ।

तस्करीका क्रममा बरामद गरिएको काठ भने बरामद गरिएकै ठाउँमा रहेको छ । स्थानीय सामुदायिक वनका पदाधिकारी र स्थानीयलाई काठको जिम्मा लगाइए पनि त्यसको संरक्षण हुन नसकेको स्थानीयले बताएका छन् । खुल्ला ठाउँमा भएका काठ घामपानीकै कारणले नष्ट हुने अवस्थामा पुगेका छन् । बरामद गरी प्रक्रिया पुर्‍याएर कतिपय काठ जिल्ला वन कार्यालयले आपूर्ति समितिमार्फत वितरण गर्ने गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us