
काठमाण्डु २३ मंसिर– डान्स रेस्टुरेन्ट, बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका २०६५ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।
महिलाविरुद्ध हुने १६ दिने अभियानको सन्दर्भमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) द्वारा सोमबार आयोजित ‘मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा बालिकाको समस्या पहिचान र समाधानका उपाय’ विषयक अन्तरक्रियामा महिला अधिकारकर्मीले निर्देशिकाको कार्यान्वयन गर्न माग गरेका हुन् ।
‘घर शान्ति नै विश्व शान्तिको आधार : दमनको प्रतिकार गरी महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ महिलाविरुद्ध हुने १६ दिने अभियान चलिरहेको छ ।
महिला अधिकारकर्मीले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा बालिकाको समस्या समाधानका निम्ति श्रम ऐनको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, होटल तथा रेस्टुरेन्टमा कार्यरत कामदारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनुपर्नेसमेत माग गरेका छन् ।
महिला अधिकारकर्मी वेनुमाया गुरुङले वेश्यागमन गर्ने व्यक्तिलाई समेत कडा दण्डको व्यवस्था महिला सहकारी निकायबाट गरिनुपर्ने बताइन ।
दोहोरी साँझमा गीत गाउने कलाकार सपना थापाले गीत गाएर राति घर फर्कने क्रममा प्रहरीले मादकपदार्थ सेवन गरेर अश्लील शब्द प्रयोग गर्दै बिनाकारण दु:ख दिने गरेको धारणा व्यक्त गरिन । रासस