श्रमदान गरेरै गाउँमा बाटो

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते २:४४ मा प्रकाशित

गोरखा, २३ मंसिर– स्थानीय बासिन्दाले श्रमदान गरेर गोरखाको हंशपुरस्थित भच्चेकदेखि लमजुङको दूधपोखरीसम्म पुग्ने सडक मर्मत गरेका छन् । हंशपुर गाविस–४, ५ र नम्की गाउँका स्थानीय बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका काफलडाँडाका सीताराम अधिकारीले जानकारी दिए ।

बर्सातपछि भत्केको सडक स्थानीय बासिन्दाले मर्मत गरेका हुन् । सडक मर्मतका लागि पटक–पटक जिविस गोरखा र लमजुङमा माग गर्दा पनि बजेट नपाएपछि स्थानीयले नै सडक बनाएका हुन् ।

‘स्थानीय ७० जना मिलेर कोदालो, बेल्चाले सडक मर्मत गरियो’, अधिकारीले भने, ‘एक सातासम्म लगाएर सडक मर्मत गरेका हौं ।’ स्थानीय बासिन्दाले करिब रु एक लाख बराबरको श्रमदान गरेर गाउँमा सडक पुर्‍याएका हुन् ।

हंशपुर–४ का स्थानीय बासिन्दा गंगाबहादुर भुजेलको नेतृत्वमा गाउँलेले सडक मर्मत गरेका हुन् । ‘गाउँलेको सहयोगमा डेढ किलोमिटर सडक मर्मत गरियो’, उनले भने, ‘सडक मर्मतपछि सडकमार्गमा टयाक्टर र जिप चल्न थालेको छ ।’ खेतबाट धान, पराल घरसम्म लैजानका लागि उक्त सडकको प्रयोग बढी हुने गर्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us