
सप्तरी, २३ मंसिर– सुकुम्बासीको नाममा हुकुम्बासीले फाइदा उठाउन नहुने र सुकुम्बासीको समस्या वैज्ञानिक एवं समानताका आधारमा समाधान गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । जिल्ला भूमि अधिकार मञ्च सप्तरीद्वारा सोमबार आयोजित ‘भूमिहीन; सुकुम्बासीको समस्या र हाम्रो भूमिका’ विषयक अन्तरक्रियामा वास्तविक सुकुम्बासीको पहिचान पनि गर्नुपर्ने वक्ताहरुले बताएका छन् ।
सुकुम्बासी समस्या समाधान आयोग सप्तरीका सदस्य शिवकुमार पासवानले सरकारले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न आयोग गठन गर्दै आए पनि आयोगलाई पूर्ण अधिकार नदिँदा सुकुम्बासीको समस्या जस्ताको त्यस्तै रहेको उल्लेख गरे ।
कार्यक्रममा नेकपा ‘एमाले’का गोविन्द न्यौपानेले सुकुम्बासी समस्या समाधानका लागि वैज्ञानिक भूमिसुधारको नीतिलाई कडाइका साथ लागू गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले सुकुम्बासीको समस्या तत्काल समाधान हुनुपर्नेमा जोड दिए ।
जिल्ला भूमिअधिकार मञ्च सप्तरीकी अध्यक्ष निलम सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमिहीन र सुकुम्बासीको क्षेत्रमा कार्यरत व्यक्तित्व तथा पीडितले समेत आ–आफ्नो विचार व्यक्त गरेका थिए ।