अवैध रुपमा बस्ने विदेशीमाथि कडाइ

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते २:२८ मा प्रकाशित

काडमाण्डु, २३ मंसिर– गृह मन्त्रालयले नेपालमा गैरकानुनी रुपमा बस्दै आएका विदेशी नागरिकमाथि कडाइ गर्ने भएको छ । पर्यटक भिसामा आएर विभिन्न गैरसरकारी संस्थामा काम गर्ने र भिसा अवधि सकिएपछि पनि लुकीछिपी बस्ने विदेशीलाई पक्राउ गरी फिर्ता गर्ने गृहको तयारी छ ।

मन्त्रालयले तयार पारेको गृह प्रशासन सुधार एवं सुदृढीकरण कार्ययोजना २०७१ मा पर्यटक भिसामा नेपाल आउने र विभिन्न संस्थामा आबद्ध भएर काम गर्ने प्रवृत्ति अन्त्य गर्न गैरकानुनी रुपमा बस्दै आएका विदेशीमाथि कडाइ गर्ने उल्लेख छ ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पर्यटक भिसामा आएर काम गर्ने र भिसा सकिएपछि पनि यहीं बसोवास गर्दै आएका विदेशीको खोजी गरिने बताए । ‘अहिले पनि गैरकानुनी ढंगले बसेका विदेशीलाई फर्काइरहेका छौं’, उनले भने, ‘अब त्यस्ता विदेशीमाथि थप अनुगमन गर्छौं ।’

नेपालमा कति विदेशी गैरकानुनी रुपमा बसेका छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । गृहले बनाएको कार्ययोजनामा विदेशीलाई नियमन गर्नेबारे गृह मन्त्रालय, अध्यागमन विभाग र सुरक्षाकर्मीबीच सूचना तथा समन्वय अभावले अवैध रुपमा बसेका विदेशीमाथि अनुगमन गर्न कठिनाइ भएको उल्लेख छ ।

ठमेल, पोखरालगायतका पर्यटकीय स्थानमा धेरैजसो विदेशी गैरकानुनी रुपले लुकीछिपी बस्दै आएका छन् ।

अन्नपूर्णपोस्ट दैनिक

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us