काठमाण्डु, २२ मंसिर– दैलेखका पत्रकार डेकेन्द्रराज थापाको कर्तव्य ज्यान मुद्दामा आइतबार दैलेख जिल्ला अदालतले गरेको फैसलाको नेपाल प्रेस युनियनले सम्मान गर्दै न्यून सजायसहित फैसला सुनाइएकामा भने असन्तुष्टि प्रकट गरेको छ ।
युनियनले सोमबार विज्ञप्तिमार्फत अदालतबाट भएको फैसलाको सम्मान गर्दै सरकारी तबरबाट मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम सजायको माग दाबी गरिए पनि फैसला गर्दा ऐ १७ नं (३) नम्बरबमोजिमको आधार लिई पक्राउ परेका अभियुक्तहरूको हकमा न्यून सजायसहित फैसला सुनाइएकामा असन्तुष्टि प्रकट गरेको हो ।
सरकारवादी मुद्दा भएकाले यस फैसलामा सन्तोष नजनाएका सरोकारवाला पक्ष पत्रकार, अधिकारवादी र परिवारको समेत भावनालाई समेटेर पुनरावेदन जानका लागि युनियनले सरकारसँग माग गरेको छ ।
दैलख अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबारमात्रै पाँचजना अभियुक्त निरकबहादुर घर्ती, हरिलाल पुनमगर र जयबहादुर शाहीलाई दुई वर्ष कैद, घटनामा उपस्थित भई शव गाड्न आफ्नो प्रत्यक्ष संलग्नता रहेको बयान दिएका लक्ष्मीराम घर्तीमगरलाई एक वर्ष छ महिना कैद र अभियुक्त बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय तोक्दै फरार अभियुक्त बमबहादुर खड्का, बमबहादुर खड्का, केशव खड्का र भक्तिराम लामिछानेको मुद्दा मुल्तवीमा राख्ने फैसला सुनाएको थियो । रासस