
विराटनगर, २२ मंसिर– मोरङ केरौना– ६ का ३४ वर्षीय छत्रबहादुर कडुवालको हत्यामा उनकै श्रीमतिको संलग्न रहेको खुलासा भएको छ ।
प्रहरी अनुसन्धानका क्रममा कडुवाल पत्नी ३५ वर्षीया देउमायाले भाडाका मान्छे प्रयोग गरी श्रीमानको हत्या गरेको खुलेको हो ।
पति हत्याका लागि उनले भारतको कास्मिरबाट ५० हजार तिरेर भाडाका मान्छे ल्याएको मोरङ प्रहरी प्रमुख एसपी ठुले राइले जानकारी दिए ।
पति हत्यामा संलग्न रहेको पुष्टि भएपछि प्रहरीले देउमायालाई किरिया बसेकै अवस्थामा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका देवमायासहित ६ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा देउमाया, उनकी पहिलो श्रीमान पट्टिकी छोरी १९ वर्षीय झुमा नेपाल, दिदी बयरवन–८ की ५० वर्षीया विष्णुमाया पौडेल, विष्णुमायाका ज्वाई बयरवन–७ का २७ वर्षीय जयबहादुर तिम्सिना, जयबहादुरकी पत्नी ३० वर्षीया रीता र झापा महेशपुर–१ ज्ञानचोकका २० वर्षीय सुरज लिम्बू छन् ।
पक्राउ पर्नेमध्ये जयबहादुर र सुरज भारतको कस्किरमा सँगै काम गर्ने गरेको र छत्रबहादुरको हत्याका लागि रकम दिने आश्वासन दिएर बोलाइएको एसपी राईले जनाए ।
केरौन–६ स्थित घरबाट मंसिर १३ गते जयबहादुर र सुरजसँगै निस्केका छत्रबहादुरको शव भोलिपल्ट परालको कुन्युमा फेला परेको थियो।