
काठमाण्डु, २२ मंसिर– एकीकृत माओवादी नेता गोपाल किराती ‘साइँला’ ले सत्तारुढ काँग्रेस–एमालेले संघीयता नदिन षड्यन्त्र गरिरहेको भन्दै जातीय तथा क्षेत्रीय स्वयम् सेवक फोर्स गठनलाई तीव्र पारेका छन् ।
तत्कालका लागि संविधानसभाबाट पहिचानसहितको संघीय संविधानका लागि दबाबमुलक आन्दोलना गर्न र काँग्रेस–एमालेद्वारा जनविरोधी संविधान थोपर्न खोजिए प्रतिरोध आन्दोलनमा उत्रन फोर्स गठन गरिएको बताए ।
जनमुक्ति सेनाको व्यवस्थापन भइसकेको र वाइसीएल निस्क्रिय भएको अवस्थामा पार्टीलाई लडाकु फोर्स चाहिएको उनको भनाइ छ ।
किरातीले मधेश ताम्सालिङ, नेवा:, तमुवान, किरात, लिम्बूवान, कोचिला, धिमाल, मुस्लिम, चेपाङ, ह्योल्मो, राई दनुवार, झागड, खसान, मगरात, थकाली, भोटेलामा, कुमाल, धिमाल, सन्थाल, माझी, भुजेल, बरामसहित ३५ जातीको फोर्स बनाएका छन् ।
जसमध्ये मधेस, ताम्शालीङ, तमुवान र किरात फोर्सको जिल्ला शाखा समेत विस्तार भएको जानकारी उनले दिए । किरातीले एउटा मोर्चाका लागि एकसय वर्ष नाघेका कम्तिमा एकजना ‘सम्मानित’ व्यक्ति चाहिएको उल्लेख गरे ।
पहिचानसहितको संघीयताको एजेण्डा कार्यान्वयनका लागि एक सय वर्ष नाघेका वृद्धहरु सल्लाहकार चाहिएको उनको भनाइ छ ।
‘पहिचानसहितको संघीयता ग्यारेण्टी गर्न फोर्स बनाइएको छ’, किरातीले काठमाण्डु टुडेसँग भने, ‘वैचाकि र सामाजिक नेतृत्व गर्न लामो ज्ञान र अनुभव हासिल गरेका एक सय वर्ष नाघेका सम्मानित सल्लाहकारहरुको खोजी भइरहेको छ ।’
त्यस्ता व्यक्ति समाजमा धेरै रहेकाले पाइने विश्वास उनको छ ।