
काठमाण्डु, २२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले आफू सबैभन्दा ‘गरिब’ प्रधानमन्त्री भएको सन्देश दिनलाई तीनवटा मोबाइल मात्रै साथमा भएको सम्पत्ति विवरण सार्वजनिक गरकै दिन संसारकै धनी र शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिलाई नेपाल आइदिन अनुरोध गरेका छन् ।
सोमबार नेपालका लागि अमेरिकी अमेरिकी राजदूत पिटर डब्ल्यु बोड्डीसँग आफ्नै निवास बालुवाटारमा भेटेर प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपालमा स्वागत गर्ने रहर गरेका हुन् ।
राजदुतसँगको भेटमा प्रधानमन्त्री कोइरालाले ओबामालाई औपचारिक निमन्त्रणाको पत्र पुर्याइदिन आग्रह गर्दै खामबन्दी निम्ता समेत दिए । उनले यस अगाडि प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन जाँदा अमेरिकी राष्ट्रपति ओबामासँगको भेटमा मौखिक रुपमा पनि नेपाल आउन निम्ता दिएका थिए ।
प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माणको महत्वपूर्ण र निर्णायक चरणमा रहेकाले आउदो जनवरीमा अमेरिकाका राष्ट्रपतिको दक्षिण एशियाको भ्रमणमा आएकै बेला नेपालमा पनि छोटो भ्रमण भएमा त्यसले समस्त लोकतान्त्रिक शक्तिहरुलाई नैतिक सहयोग हुने विचार राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिमा संविधान बनाउन सुझाव दिएर गएको दुई हप्ता पनि बित्न नपाउँदै प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शक्तिलाई सहयोग हुने भन्दै ओबामालाई निम्ता पठाएका हुन् । उनले राजदुत बोडेलाई संविधान निर्धारित समयमा नै आउने विश्वास पनि दिलाए ।
भेटवार्तामा अमेरिकी राजदूत बोडीले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नै संविधान निर्माण हुन सक्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
दुई देशबीचको मधुर कुटनीतिक सम्बन्ध, संविधान निर्माण, नेपालमा हुन सक्ने अन्तराष्ट्रिय लगानी र आपसी चासोका विषयमा पनि भेट केन्द्रित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाले संयुक्त राज्य अमेरिकाले नेपालको आर्थिक सामाजिक विकासमा भौतिक र वित्तिय सहयोगको साथै प्रजातन्त्रको विकासमा निरन्तर नैतिक समर्थन दिएकोमा धन्यवाद पनि ज्ञापन गरेका थिए ।
भेटमा प्रधानमन्त्रीले विदेशी लगानीको सुरक्षामा ध्यान दिइने बचन समेत दिए । भेटमा प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई पनि सहभागी थिए ।