सुशील र ओलीले गच्छदारलाई १२ अर्बको लोभ देखाएपछि…

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते १२:०७ मा प्रकाशित

bijay gachchhadarकाठमाण्डु, २२ मंसिर– सत्तारुढ काँग्रेस–एमालेले एमाओवादी नेतृत्वको २२ दलीय विपक्षी मोर्चामा फुट ल्याउन कसरत तीव्र पारेका छन् ।

उनीहरुले मोर्चा आबद्ध मधेसी मोर्चाका नेताहरुलाई सत्ताको लोभ देखाएर प्रचण्ड मोर्चा कमजोर पार्ने प्रयास तीव्र पारेका हुन् ।

यसै क्रममा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले २२ दलीय गठबन्धनमा रहेको मधेसी मोर्चाको प्रमुख घटक फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई फकाएका छन् ।

स्रोतका अनुसार गच्छदारले ‘मालदार’ मन्त्रालय पाए सरकारमा जाने ‘ग्रिन सिग्नल’ कोइराला र ओलीलाई दिइसकेका छन् ।

२२ दलीय मोर्चाबाट मधेसी मोर्चालाई अलग गर्न सकिए एमाओवादीलाई संविधान निर्माण प्रक्रियामा पेलेरै अघि बढ्न सकिने निस्कर्षमा काँग्रेस–एमाले छन् । त्यसका लागि उनीहरुले गच्छदारलाई उपप्रधानसहित रक्षा मन्त्रालय दिएको बचन दिइसकेको बुझिएको छ ।

हाल रक्षा मन्त्रालय प्रधानमन्त्री कोइराला आफैंले राखेका छन् । विश्वस्त श्रोतका अनुसार नेपाली सेनाको आधुनिकीकरणका लागि आवश्यक हतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान किन्न १२ अर्ब निकासा गरदिने भन्दै त्यसमा कमिसन खान पाउने लोभ गच्छदारलाई देखाइएको छ ।

एमाले अध्यक्ष ओलीले गच्छदारसहित मधेस केन्द्रित दललाई केही दिनअघि बालकोटस्थित निवासमा बोलाएर दिवा भोजसहितको बैठक आयोजना गरेका थिए ।

यद्यपि मोर्चामा रहेका फोरम नेपाल, तमलोपा र सदभावना भने संविधानसाले संविधान जारी नगरेसम्म सरकारमा नजाने अडानमा छन् ।
सोमबार मात्र काँग्रेस–एमालेले मधेसी मोर्चाका नेताहरुसँग सत्ता साझेदारीका विषयमा छुट्टै छलफल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us