
काठमाण्डु, २२ मंसिर– अन्तर्राष्ट्रिय मावनअधिकार दिवसको सन्दर्भमा आयोजित दलित अधिकारकर्मीको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।
दलित सेवा सङ्घले आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा तथा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी अभिसन्धि र दलित समुदायमा त्यसको प्रभाव’ विषयक तीन दिने सम्मेलनमा दलित समुदायको अधिकारको निम्ति अग्रसर विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी तथा सरोकारवालाको सहभागिता रहने छ ।
सम्मेलनमा नेपालका दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको बारेमा कार्यपत्रमाथि छलफल गरिने बताइएको छ ।
सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आदिवासी जनजाति, दलित, महिला तथा उत्पीडनमा पारिएको समुदायले पाउनुपर्ने सम्पूर्ण अधिकारलाई संवैधानिक व्यवस्था गरिनुपर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् जीवन परियारले सिङ्गो मुलुकलाई विकासको गतिमा अगाडि बढाउन पहिला दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ आइसकेपछि पनि मुलुकमा छुवाछूतका घट्ना बढ्दै गएको हुँदा त्यसलाई अन्त्य गर्ने सवालमा राज्यले नै चेतना मूलक राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने बताए ।
सङ्घका अध्यक्ष चक्रमान विश्वकर्माले आफ्ना अधिकारलाई आगामी संविधानमा सुनिश्चित गराउन आदिवासी जनजाति, दलित तथा उत्पीडित समुदायले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने उल्लेख गरे ।