अत्याधिक गतिमा गाडी कुदाउने चालकलाई कारबाही

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते ५:०८ मा प्रकाशित

धादिङ, २२ मंसिर– राजमार्गमा बढ्दै गएको सवारी दुर्घटनामा कम गर्न ट्राफिक प्रहरीले सवारी साधनको गति जाँच गरी अत्यधिक गतिमा सवारी हाँक्नेलाई कारबाही थालेको छ ।

सवारी साधनको गतिमा न्यूनीकरण गर्न सवारीको गति मापन गर्ने यन्त्र (स्पिड मिटर) राडार गन प्रयोगमा ल्याइएको छ ।

गजुरीको चालिसेमा बसेका ट्राफिक प्रहरीले राजमार्गमा गुडेका सवारीको राडारको सहायताले गति मापन गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

सडकको तोकेबमोजिम सो सडकमा सवारीमा गति बढी भएमा किलोमिटर देखाउँदै राडार कराउन थाल्छ ।

गति बढी भएका सवारीलाई स्थलगत रुपमै जरिवाना गराएर आइन्दा तीव्र गतिमा सवारी नहाँक्नु भन्दै सम्झाएर पठाउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीनराजा बुढाथोकीले बताए ।

अभियानको पहिलो दिन आइतबार डेढ दर्जन सवारी कारबाहीमा परेको कार्यालयले जनाएको छ । आइतबारदेखि सुरु भएको सो अभियान दुई सातासम्म चल्नेछ ।

सवारी दुर्घटना नियन्त्रणकै निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालय मापसे जाँच पनि तीव्र पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us