
काठमाण्डु, २२ मंसिर–दलित भएकै कारण एक घरधनीले भाडामा बस्नेलाई घरबाट निकालेका छन् । डेरा सरेको १० दिनमै इलामकी खेममाया सिवा निकालिएकी हुन् ।
इलाम सााखेजुङकी सिवा बत्तिसपुतलीस्थित रामचन्द्र मार्गका ध्रुवप्रसाद लामिछानेको घरमा १० दिनअघि डेरा सरेकी थिइन् । तर, उनी दलित भएको थाहा पाएपछि जजमानी गर्ने लामिछानेले शनिबार घरबाट तत्कालै निस्केर जान भनेका हुन् ।
सिवाका अनुसार डेरा सरेको चार दिनपछि उनीसँग लामिछानेकी श्रीमतीले जात सोधेकी थिइन् । आफू परियार भएको बताएपछि भोलिपल्टबाटै कोठा खाली गर्न दबाब दिएको सिवाले बताइन् ।
‘कोठा सरेको चार दिनपछि घरबेटी कोठामा आउनुभयो । केहीबेर गफगाफ चल्यो । जात के हो भनेर सोधेपछि मैले सिवा भनें । सिवाबारे थाहा रहेनछ । मैले परियार हो भनें,’ उनले भनिन्, ‘त्यसपछि कोठाबाट जुरुक्क उठेर जानुभयो । भोलिपल्टदेखि त तत्काल कोठा खाली गर्न भन्न थाल्नुभयो ।’
कोठा नपाइएकाले आफू तत्काल सर्न नसकेको सिवाले बताइन् । तर, लामिछाने परिवारले तत्काल कोठा सर्न दबाब दिँदै आएको छ । दलित भएकै कारण आफूलाई कोठा सर्न दबाब दिएपछि सिवाले महानगरीय प्रहरी प्रभाव गौशालामा उजुरी दिइन् ।
प्रहरी वृत्तले लामिछाने दाम्पतीलाइ पक्राउ गरेको थियो । उनीहरुले गल्ती गरेको स्वीकार गरेपछि आगामी दिनमा यस्तो घटना नदोहोर्याउने कागज गराएर प्रहरीले छाडिदिएको छ ।
नयाँ पत्रिका दैनिकबाट