विपक्षीको २० दलीय मोर्चामा खटपट

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते १:४० मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– एमाओवादीले अगुवाई गरेको २० दलीय विपक्षी गठबन्धन मोर्चामा खट्पटी सुरु भएको छ । राष्ट्रिय सहमतिको सरकारको गृहकार्य भइरहेकै बेला संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी नेताले गठबन्धनप्रति असन्तुष्टि पोखेका हुन् ।

गठबन्धनको साझा धारणा तय गर्न आइतबार बोलाइएको बैठकमा साना ५ दल अनुपस्थित भए भने सहभागी केही नेताले समेत मोर्चाबन्दीको औचित्यमाथि प्रश्न उठाएका थिए । खासगरी साना दलहरुबीच भएको खट्पटकै कारण आइतबार सार्वजनिक गर्ने भनिएको साझा धारणा समेत रोकिएको छ ।

‘संविधानका अन्तर्वस्तुमा छलफल हुने गरी मोर्चा बन्नुपथ्र्यो । त्यस विपरीत सडक आन्दोलनमा जानेसम्मका कार्यक्रममा बन्न लागेपछि हामी नबस्ने भएका हौं,’ मोर्चामा आवद्ध नेपाल परिवार दलका सभासद एकनाथ ढकालले भने । मोर्चाबन्दी गरी आन्दोलनमा जादा माघ ८ मा संविधान जारी गर्ने काममा बाधा पुग्ने ठानी अलग भएको उनले बताए ।

बैठकअघि नै ढकालले आफूहरुको निर्णयबारे एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईलाई टेलिफोन गरी जानकारी दिएका थिए ।

परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीसहितका नेताहरु बैठकमा सहभागी भएनन् ।

मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित थिए । तर, पार्टीबाट उनले सभासद शिवजी यादवलाई पठाई पार्टीको धारणा राख्न लगाएका थिए ।

कान्तिपु दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us