
काठमाण्डु, २२ मंसिर– युद्धकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटीहरु दुई पटकका संविधानसभाको चुनावले चुर्लुम्म डुबेका छन् । शान्ति प्रक्रिया र संविधानसभाको चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी ।
दुई पटक भएको संविधानसभाको चुनावका लागि र कतिपय ठाउँमा निजी प्रयोगका लागि लिएको ऋण तिर्न नसक्दा नेता तनावमा छन् । कतिपय नेताले ऋण तिर्न नसक्दा जिल्ला आउजाउ नै घटाएका छन् ।
पाचथरका पूर्व जिल्ला इन्चार्ज तथा सभासद् श्रीप्रसाद जबेगुले चुनाव प्रचारमा गाउँ जाँदा ‘ऋण कहिले तिर्ने ?’ भनेर साहुहरुले उल्टै हप्काएको र अदालत जाने चेतावनी दिएको सुनाए ।
पछिल्लो पटक संविधानसभा चुनावमा कार्यकर्तालाई खुवाएको खाना, माइक र मञ्च व्यवस्थापनको रकम एमाओवादीले अझै तिर्न सकेको छैन । केन्द्रले जिल्लामा लिएको ऋण स्थानीय स्तरमै व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
सबैभन्दा धेरै ऋण पाँचथर जिल्ला कमिटीलाई छ । त्यहाँ एक करोडभन्दा बढी ऋण छ । त्यस्तै एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखाको कमिटी पनि एक करोड ऋणमा छ । दोलाखामा ६० लाखभन्दा बढी र सिन्धुलीमा ५० लाखको हाराहारीमा ऋण छ ।
एमाओवादीका अनुसार धेरै जिल्ला १५ देखि ४० लाखसम्म ऋणमा छन् ।
नयाँ पत्रिका दैनिकबाट