वनभोज गएको बस दुर्घटनामा १६ जना घाइते

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १५:३२ मा प्रकाशित

इलाम, २१, मंसिर– इलामको पशुपतिनगरबाट वनभोज खाएर झापाको दमकतर्फ गइरहेको बस मेची राजमार्गको कोल्बुङ–९ भालुझोडानजिकै दुर्घटनाग्रस्त भएको छ ।

झापाको दमकतर्फ जाँदै गरेको ना ४ ख ८१३३ नम्बरको बस ब्रेक फेल भई सोमबार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटनाग्रस्त हुँदा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये दमक नगरपालिका–७ का तिलबहादुर श्रेष्ठ, विवेक लुईंटेल, अनिश लकान्द्री, तिनिष्ट मगर, सञ्जय श्रेष्ठ, नरेशकुमार लकान्द्री, टेकबहादुर बस्नेत, प्रताप राई, निशा बुढाथोकी र निरोज बुढाथोकीको अवस्था गम्भीर छ ।

यस्तै अम्विका नेपाली, सारिका माझी, सोनिका माझी, रेजिना माझी, सपना लावती र रिना तामाङको अवस्था सामान्य रहेको हर्कटे प्रहरी चौकीका प्रमुख रामकाजी कटुवालले जानकारी दिए ।

घाइतेहरुको विर्तामोडस्थित मनमोहन मेमोरियल र कन्काई अस्पतालमा उपचार भइरहेको छ । चालक झापा जुरोपानी–१ का अनन्त राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us