
काठमाण्डु, २१ मंसिर– नेकपा (माले)का महासचिव सिपी मैनालीले बाह्रौ शताब्दीमा राजा जयस्थिति मल्लले ६४ जातको स्थिति बसालेको स्मरण गराउँदै ती जातजातिलाई पहिचान दिन नेपाली काँग्रेस र एमाले तयार नभएकाले संविधान बन्न नसकेको जिकिर गरेका छन् ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको अन्तक्र्रियामा उनले भने, ‘माघ ८ भित्र संविधान बन्न सक्ने सम्भावना नभएकाले पहिलो मस्यौदा बनाउनेतर्फ काँग्रेस, एमाले लाग्नु उत्तम हुन्छ ।’
महासचिव मैनालीले संविधानले स्वीकार नगरेसम्म बहुजातीय मुलुक हुन नसक्ने तर्क गर्दै एउटा जातीय पहिचान आयोग गठन गरी १२५ जातजातिलाई संविधानको अनुसूचीमा राखेर विभिन्न जातजातिको पहिचान दिनुपर्ने विचार व्यक्त गरे ।
संविधानविद् निलाम्वर आचार्यले काँग्रेस र एमालेले चाहे माघ ८ मा संविधान बन्न सक्ने बताउँदै निर्धारित समयमा संविधान नबने दलहरुको प्रतिष्ठा सङ्कटमा पर्ने धारणा राखे ।
डा रामदयाल राकेशले बहुमतबाट संविधान घोषणा गर्नु देशको हितमा नहुने बताउँदै अधिकतम सम्झौता गर्नुपर्ने औँल्याए । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले संविधान समयमै ल्याउन सबैले दायित्व निर्वाह गर्नुपर्ने चर्चा गरे । रासस