चिसोले बिरामीको सङख्या बढ्दो

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते ८:१६ मा प्रकाशित

सोलुुखुम्बु, २१ मंसिर– सोलुखुम्बु जिल्लामा मौसम परिवर्तनसँगै बढेको चिसोका कारण बिरामीको सङख्या बढ्दै गएको छ । जिल्लाभित्रका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनियाका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइएको हो ।

चिसोका कारण माथिल्लो भेग तथा सदरमुकाम सल्लेरी आसपासका बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

विगतको तुलनामा केही दिनयता उच्च पहाडी र हिमाली ग्रामीण भेगमा चिसो ह्वातै बढेसँगै त्यसको प्रभाव जिल्लामा देखिएको हो । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्ने र खानपानमा ध्यान दिनुपर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।

जिल्लाको प्रत्येक घरमा अहिले औसतमा दुई–तीन जनासम्म चिसोका कारण बिरामी भएको पाइएको छ । जिल्ला अस्पताल फाप्लुमा अहिले दैनिक ४० देखि ५० जनासम्म बिरामी आउने गरेको जिल्ला अस्पताल फाप्लुका डा. सुचिता पुनले जानकारी दिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us