बाँकेका कैदबन्दीको चिसो रात पालमुनि

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते ७:३८ मा प्रकाशित

नेपालगन्ज, २१ मंसिर– नेपालगन्ज बजारको मध्यभागमा रहेको बाँके जिल्ला कारागारमा अहिले क्षमताभन्दा अत्यन्त धेरै कैदीबन्दी राखिएका कारण जाडोका चिसा रात पालमुनि बिताउन उनीहरु बाध्य छन् ।
कारागार विभागले ३०० कैदी राख्न सक्ने क्षमता निर्धारण गरे पनि सो कारागारमा अहिले ५५५ कैदीबन्दी कोचाकोच गरेर राखिएका हुन् ।
बाँके जिल्ला अदालतले मुद्दा फैसला कार्यान्वयन अभियान सुरु गरेपछि कारागारमा कैदीबन्दीको सङ्ख्या ह्वात्तै बढेको कारागार प्रमुख श्याम लामिछाने बताउँछन् ।
कोठाको अभाव भएपछि अहिले केही कैदीहरू पालमुनि रात बिताउने गर्दछन् । जाडो महिना भएकाले पालमुनि रात बिताउने कैदीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेको र उनीहरूको दैनिकी झन् कष्टकर बन्दै गएको छ ।

करिब १७ कट्ठा क्षेत्रफलमा रहेको सो कारागारमा रहेका कैदीमध्ये ४३ महिला छन् । पाँच नाबालक आफ्ना आमासँगै यहाँ आश्रित छन् ।

कारागारमा रहेका कैदीको आचरण सुधारका लागि उनीहरूलाई स्वरोजगारमूलक काममा उत्प्रेरित गर्न कारागार विभागले त्यहाँ बाँसको मुढा बनाउने र महिला कैदीका लागि सिलाइ कटाइ व्यवसायको समेत व्यवस्था गरेको छ ।

क्षमताभन्दा धेरै कैदी हुनु, कारागार भवन जीर्ण हुँदै जानु, शौचालयको पर्याप्त नहुनु, ढल र फोहरमैलाको उचित निकास नहुनुलगायतका कारण कैदीले थप समस्याको सामना गर्नुपरिरहेको कारागार प्रशासनको भनाइ छ ।

करिब १०० वर्ष पुरानो जीर्ण अवस्थाको सो कारागारमा कैदीको सङ्ख्या बढ्न थालेपछि बाँके जिल्लाको गनापुर–८ मा रहेको कृषि मन्त्रालयअन्तर्गत रहेको जग्गामा क्षेत्रीयस्तरको ठूलो कारागार निर्माणको प्रस्ताव गरिएको छ ।

सो स्थानमा त्यस मन्त्रालयअन्तर्गत रहेको आठ बिगाहा क्षेत्रको सो जग्गामध्ये छ बिगाहा भोगचलन गर्ने गरी बाँके कारागारलाई हस्तान्तरण पनि भइसकेको जेलर श्यामलाल लामिछानेले बताए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us