
काठमाण्डु, २१ मंसिर– जाडो मौसम सुरु भएसँगै सर्लाहीसहित मध्यतराईमा शीतलहर सुरु भएको छ । शीतलहरसँगै दुईदिनदेखि घाम नलागेका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।
राजमार्ग र सडकमा सवारी साधनको चाप कम हुन थालेको छ भने सर्वसाधारणको चहलपहल पनि घटेको छ । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाट बाहिर निस्कन छाडेका छन् ।
शीतलहरबाट विशेष गरी दीर्घ रोगी, श्वासप्रश्वासका बिरामी एवम् पाँच वर्षमुनिका बालबच्चा बढी प्रभावित भएको जिल्ला जनस्वास्थ्य निरीक्षक प्रभाकर झाले बताए ।
प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले शीतलहरका कारण सर्वसाधारणको जनजिवन प्रभावित भएको उल्लेख गर्दै चोक चोकमा आगो ताप्न दाउराको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।
यता मुगु जिल्ला सदरमुकाम गमगढीबाट दुई दिनको पैदल दुरीमा रहेको मुगु गाउँका बासिन्दा हिउँदे याम सुरु भएसँगै जाडोका कारण बेंसी झर्न थालेका छन् । समुद्री सतहबाट तीन हजार ९०० मिटरको उचाइमा रहेको यो गाउँमा मुगाल जनजातिको बहुलता छ ।
चिसो बढन थालेपछि मुगालहरु मुगु गाउँभन्दा न्यानो हुने सिरानी चौर, पिप्लाडी, चितै कुना, सदरमुकाम गमगढी, तराई र काठमाडाँैतिर अस्थायी बसाइँ सरेर गएको मुगु गाउँका छोरतेन लामाले बताए ।
उनले भने, ‘अहिले गाउँ सुनसान छ । सबै तल झरिसके । अब चैत÷वैशाखतिर मात्र मुगाल घर फर्कन्छन् ।’
मुगाल मात्र होइन चिसो बढेकाले मुगु गाउँमा रहेको नेपाल प्रहरीको सीमा सुरक्षा चौकी पनि शनिबारदेखि सदरमुकाम गमगढीमा सरेको छ ।
सिङ्गो गाउँ नै एउटा गाविस रहेको यो गाउँमा १५३ घरधुरी छन् ।