दीपकराज गिरीलाई एनटिभीका कर्मचारीको प्रश्न, ‘मोदीजस्तो प्रसिद्द व्यक्तिको क्यारिकेचर गर्ने ?’

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते ४:०८ मा प्रकाशित

dipakकाठमाण्डु, २१ मंसिर– तपाईंले मोदीजस्तो प्रसिद्द व्यक्तिको क्यारिकेचर गर्ने ? मिडिया हबको प्रायोजनमा नेपाल टेलिभिजनबाट हरेक बिहीबार प्रसारण हुँदै आएको तीतोसत्य प्रसारणमा रोक लगाइएपछि उक्त प्रकरणले सञ्चार माध्यममा ठूलै ‘कभरेज’ मात्र पाएको छैन सामाजिक सञ्जाल तताएको छ ।

नेपाल टेलिभिजनको सेन्सर शाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै उक्त ऋंखलाको १ सय ७६ औं भाग प्रसारणमा रोक लगाएको थियो ।

यद्यपि सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले तीतो सत्य रोकिएकामा दु:ख व्यक्त गर्दै उक्त युनिटसँग माफीसमेत मागिसकेका छन् । तर त्यस प्रकरणको चर्चा भने अझै सेलाएको छैन ।

तीतो सत्यका निर्देशक एवम् प्रमुख कलाकार दीपकराज गिरीले आइतबारको नयाँ पत्रिकामार्फत केही थप रहस्यको खुलासा गरेका छन् ।

‘मबाट मोदीको मानहानी र भारतसँग नेपालको सम्बन्धमा खलल पुग्ने कुनै काम भएको थिएन’, दीपकले भने, ‘एनटिभीकी कर्मचारी मिता सापकोटाले मलाई फोन गरेर भन्नुभयो, तपाईंले मोदीजस्तो प्रसिद्द व्यक्तिको क्यारिकेचर गर्ने ? यो ऋंखलाको प्रसारण गर्न मिल्दैन ।’

उनले मोदीको सबैले सम्मान गर्नुपर्ने भए पनि तर, सम्मान गर्ने नाममा चाकरी गर्न नहुने उनको भनाइ छ । तीतो सत्यको शृंखला रोक्ने कार्य चाकरी गर्ने मनस्थितिबाट प्रेरित रहेको उनको भनाइ थियो ।

उनले नक्कली मोदीदेखि सम्बद्ध निकायका जिम्मेवार व्यक्ति डराएको टिप्पणी गरे ।

उनले निकृष्ट तर्क गरेर प्रसारण रोकिएको भन्दै यसको आलोचना गरे । ‘मैले गरेका सबै काम ठिक हुन्छन् भन्ने छैन । अनुपयुक्त दृश्य र संवाद थिए भने काट्न सकिन्थ्यो । तर यसपालि निकृष्टतर्क अघि सारेर प्रसारण रोक्ने घोर आपत्तिजनक काम भयो ।’

आफूले सार्क शिखर सम्मेलनका कारण विकास निर्माण, सरसफाइ र नगर सिँगारपटारका काम एकाएक व्यापक रुपमा भएकाले विदेशी आएपछि मात्रै काम गर्न खोज्ने कर्मचारीतन्त्र र यसक्रममा हुने कमिसनको अलखेलमाथि व्यंग्य गरेको बताए ।

गिरीले आफू मोदीको ‘फ्यान’ भएकाले उनीमाथि मानहानी गर्ने र मजाक उडाउने काम किन गर्थे र ? भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us