
काठमाण्डु, २० मंसिर– मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरी नेकपा माओवादी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी सम्वद्ध विभिन्न नौ वटा जनवर्गीय संगठनले समर्थन गरेका छन् ।
उनीहरुले शनिबार विज्ञप्ति जारी गर्दै विप्लवले गर्ने भनेको एकीकृत क्रान्तिको कार्यनीतिमा आफूहरुको पूर्ण साथ र समर्थन रहने बताएका हुन् ।
यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तीलक परियार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की कार्यालय सदस्य बन्धु चन्द, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव माइला लामा र अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाईली छन् ।
यस्तै राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष एकराज भण्डारी, अखिल नेपाल किसान संघ (क्रान्तिकार) का अध्यक्ष ठाकुर चापागाईं, क्रान्तिकारी पत्रकार महासंघका प्रभात चलाउने, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष योगेन्द्र कुमाल, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका अध्यक्ष पदम खेवकोटा, जनयुद्धका घाइते अपांग संघका अध्यक्ष पर्वतले पनि विप्लवलाई समर्थन गरेका छन् ।
विज्ञप्तिमा एमाओवादीबाट छुट्टिएको अढाई वर्ष पुग्न लाग्दा पनि आफूले गरेका प्रतिबद्धता पूरा गर्ने र पार्टीभित्रको दुईलाइन संघर्षलाई देशैभरिका प्रतिनिधिहरुको बीचमा छलफल बहस चलाई राष्ट्रिय सम्मेलन वा विशेष महाधिवेशनमार्फत विधि र प्रक्रियामा समाधान गर्नुको सट्टा नवसंशोधनवादी, राष्ट्रिय आत्मसमर्पण र वर्गीय आत्मसमर्पणवादीसित पुन:एकताको हारगुहार गर्दै हिँडेको भन्दै विप्लवले वैद्यसँ गरेको सम्बन्ध विच्छेदलाई उनीहरुले सही ठहर गरेका छन् ।
आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धी खोस्ने षड्न्त्र तीव्र भइरहेका बेला त्यसविरुद्ध सशक्त प्रतिरोध आन्दोलनको आवश्यकता देखापरिरहे सन्दर्भमा आफूलाई इमान्दार र क्रान्तिकारी भएको दाबी गर्ने वैद्य नेतृत्वको माओवादी गतिहीन अवस्थामा पुगेको आरोप विज्ञप्तिमा लगाइएको छ ।