
काठमाण्डु, २० मंसिर– एमाआवोदी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाले आफूलाई दाता र अरुलाई भिखारीको व्यवहार गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा उनले दुई तिहाईको बलमा पेलेर संविधान बनाउने सोच त्याग्न कोइराला र ओलीलाई आग्रह गरे ।
माघ ८ मा संविधान जारी गर्न असम्भव भएकाले एक/दुई महिना समय थप गररे संविधान बनाउँदा पनि नेपाली जनताले स्वीकार गर्ने उनको भनाइ थियो ।
यद्यपि विगतका सहमति र प्रतिबद्धताप्रति काँग्रेस–एमाले इमन्दार भए तत्काल सहमति गरेर संविधानको मस्यौदा माघ ८ गतेभित्र जनताका बीचमा लैजान सकिने बताए ।
‘सुशील कोइराला र एमाले केपी ओलीले संविधान निर्माणको प्रसंगमा आफूलाई दाता र अरुलाई भिखारी जस्तो व्यवहार गरिरहुनभएको छ’, प्रचण्डले भने, ‘उहाँहरुले दुई तिहाईको बलमा पेलेर संविधान बनाउने सोच्नुभएको छ तर, यो सम्भव छैन र त्यसमा जनताले पनि साथ दिँदैनन् ।’
उनले मुलुकमा गिरिजाप्रसाद कोइरालाको अभाव खट्किएको दोहो¥याए । ‘गिरिजाबाबु हुनुभएको भए देशले यो नियति भोग्नुपर्ने थिएन कि ?’ उनले भने ।
सुशील र ओली शान्ति प्रक्रियाविरोधी
प्रचण्डले सुशील र ओलीले संविधानसभालाई नियमित संसद बनाउन खोजेको आरोप लगाए । उनले कोइराला र ओलीलाई लोकतान्त्रिक आन्दोलनको ‘लेट कमर’ भएको बताए ।
‘वास्तवमै भन्ने हो भने सुशीलजी र ओलीजी संघीयता र शान्ति प्रक्रियाको विरोधी हुनुहुन्छ’, ‘प्रचण्डले भने, ‘उहाँहरु अन्तिम समयमा गोहीको आँसु चुहाउँदै सहमति भाँड्न नौ बुँदे पेस गर्नुहुन्छ । यो तरिका ठीक होइन, यो देशलाई संविधान दिने तरिका होइन ।’
समयमै संविधान नबन्नुमा सुशील र ओली दोषी रहेको आरोपसमेत उनले लगाए ।