
काठमाण्डु, २० मंसिर– नवगठित नेकपा माओवादीका संयोजक नेक्रविक्रम चन्द ‘विप्लव’ ले मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेपछि आफूहरुलाई भ्रष्टाचारीहरुले समेत बधाई दिन थालेको बताएका छन् ।
राजधानीको पुतलीसडकमा शनिबार भएको जनवर्गीय संगठनको कार्यकर्ता भेलामा उनले भ्रष्टाचारहरुले टेलिफोन गरेर नयाँ पार्टी गठन गरेकामा बधाई दिन थालेको बताए ।
‘केही भ्रष्टाचारीले मलाई फोन गरेर बधाई दिए’, विप्लवको भनाइ उद्धृत गर्दै भेलाका एक सहभागीले भने, ‘तस्करहरुले राम्रो गर्नुभयो, शुभकामना छ भनेका छन् ।’ उनले क्रान्तिका लागि सञ्चार माध्यममा अन्तवार्ता दिएर नहुने भन्दै उनले चुनौती मोल्नुपर्ने बताए ।
त्यस क्रममा उनी प्रचण्डप्रति निकै नरम र मोहन वैद्यप्रति कडा रुपमा प्रस्तुत भए । प्रचण्डले आफूलाई अझै साथ दिने विश्वासमेत उनले व्यक्त गरे ।
प्रचण्डमा परिस्थिति विचार गरेर दायाँबायाँ गर्न सक्ने क्षमता रहेको भए पनि वैद्यको क्षमता भने लेखपढमा मात्रै भएको टिप्पणी उनको थियो । उनले आफूहरु सामान्य मान्छेले क्रान्ति गर्न थालेको भन्दै जित वा खरानी दुवै हुने सम्भावना रहेको उल्लेख गरे ।