
काठमाण्डु, २० मंसिर– नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोलाले संसदवादी र तत्कालिन माओवादीबीचको रोल्पा सहमति कार्यान्वन नभए मुलुकमा अर्को युद्ध हुने चेतावनी दिएका छन् ।
राजधानीको संवाद डबलीमा शनिबार भएको कार्यक्रममा बास्तोलाले रोल्पामा भएको पाँचबुँदे सहमति कार्यान्वनको माग गरे ।
रोल्पा सहमतिको पालना भए मात्र मुलुकले निकास पाउने उनको भनाइ थियो । ‘माओवादी र संसदवादी शक्तिबीच रोल्पामा भएको पाँचबुँदे सहमति कार्यान्यवन हुनुपर्छ’, बास्तोलाले भने, नभए देशमा अर्को युद्ध हुन्छ ।’
उनले रोल्पा सहमति तोडेर काँग्रेस–एमाले एक्लै अघि बढेको भन्दै त्यसको मूल्य उनीहरुले चुक्ता गर्नुपर्ने चेतावनी दिए ।
दलहरुबीच दिल्लीमा चर्चित १२ बुँदे सहमति हुनुअघि एमाले नेताहरु बामदेव गौतम र युवराज ज्ञवाली तथा माओवादी शीर्ष नेतृत्वबीच रोल्पामा निरंकुश राजतन्त्र अन्त्यका लागि सहकार्य गर्नेसहित पाँचबुँदे सहमति भएको थियो ।
बास्तोलाले उनले जनयुद्ध, जनआन्दोलन र सबै क्षेत्रका जनता र वर्गको चाहनाको विरुद्धमा संविधान ल्याउन षड्यन्त्र भइरहेको दाबी गरे ।