रेस्टुरेन्ट नाममा यौन धन्दा चलाउनेलाई जेल चलान

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ६:०४ मा प्रकाशित

 

मोरङ, २० मंसिर– रेस्टुरेन्टमा काम गर्ने महिला कामदारलाई यौनधन्दामा लगाउने विराटनगर १४ रोडशेष चोकस्थित ज्योति रेस्टुरेन्टकी सञ्चालक ज्योति बराल मण्डललाई अदालतले कारागार चलान गरेको छ ।

सो मुद्दामा प्रतिवादीबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले सञ्चालिका बराललाई पुर्पक्षका लागि शुक्रबार मोरङ जिल्ला अदालतले कारागार चलान गरेको हो ।

विराटनगर–१६ स्थित रोडशेष चोकमा रेस्टुरेन्ट चलाउँदै आएकी सञ्चालिका बरालले पति सञ्जय मण्डलसँग मिलेर लामो समयदेखि यौनधन्दा चलाउँदै आएको आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनगरले अदालतमा मानव बेचबिखन आरोपमा मुद्दा दर्ता गराएको थियो ।

सडकमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुबारे अनुसन्धान गर्ने क्रममा शिशु फाल्ने महिला ज्योति रेस्टुरेन्टकी कामदार भएको र उनलाई सञ्चालक बरालले यौनधन्दामा लगाउने गरेको खुलेको प्रहरीको दाबी छ ।

प्रहरीले शिशु फाल्ने महिलालाई पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । उनलाई पनि अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।

यसैगरी विराटनगर–१५ स्थित आषिका होटलमा ल्याएर बालिका करणी गरेको आरोपमा मोरङ प्रहरीले सुनसरी दुहबी–९ का ३६ वर्षीय भोगेन्द्र अग्रवालविरुद्ध मुद्दा दर्ता गराएको छ । मंसिर १० गते विराटनगर १५ स्थित आषिका होटलमा आपत्तिजनक अवस्थामा प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो ।

प्रहरीले यौनधन्दामा सघाएको भन्दै होटल सञ्चालिका विराटनगर–१६ की रमा दाहाल ‘कार्की’लाई पनि सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो । उनी जिल्ला प्रशासन मोरङबाट धरौटीमा छुटेकी छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us