
काठमाण्डु, १७ मंसिर– संवैधानिक राजनीतिक–संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले सबैलाई चित्त बुझ्दो गरी प्रतिवेदन पठाउने बताएका छन् ।
दलहरुबीच संवैधानिक समितिमा भएको गतिरोध तोडिएलगत्तै बुधबार बसेको बैठकमै पत्रकार सम्मेलन गरेका भट्टराईले सबैको चित्त बुझ्ने गरी काम गर्नु आफ्ना लागि चुनौती भए पनि चित्त बुझ्नो काम गर्ने बताए ।
उनले संविधान सहमतिमै ल्याउनुको विकल्प नरहेको भन्दै आफू प्रमुख दलका शीर्ष नेतासँगको सहमतिमै अघि बढ्ने बताए । ‘सबैको चित्त बुझाउने गरी काम गर्नु मेरो लागि चुनौती छ’, उनले भने, ‘तर म सबै शीर्ष नेतासँग सल्लाह गरेर सहमतिमै अघि बढ्न कोसिस गर्नेछु ।’
आफूलाई जे मन लाग्छ त्यही गर्दा मुलुकमा सहमति र विश्वासको वातावरण खलबलिन सक्ने भन्दै उनले पार्टीको भूमिकाबाट माथि उठेर काम गर्ने स्पष्ट गरे ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठकले पार्टी भूमिकाबाट माथि उठेर स्वविवेक प्रयोग गरी प्रतिवेदन संविधानसभामा लैजान भट्टराईलाई जिम्मेवारी दिएको थियो ।
भट्टराईले संविधानका अन्तरवस्तुमा सहमति जुटाउन बाँकी नै रहे पनि समितिको गतिरोध तोडिएको भन्दै खुसी व्यक्त गरे । उनले १२ बुँदे सहमतिको भावनाविपरीत दलहरुबीच बढेको दूरी पछिल्लो सहमतिसँगै घटेको बताए ।
भट्टराईले बुधबारै प्रतिवेदनलाई अन्तिम रुप दिने कोसिस भए पनि प्रधानमन्त्री सुशील कोइराला बागलुङ र एमाले अध्यक्ष केपी ओली बुटवल गएकाले सम्भव नभउको उल्लेख गरे । कोइराला र ओली राजधानी फर्केपछि बिहीबार छलफल गरेर प्रतिवेदन संविधानसभामा पठाउने उनले बताए ।