मलेसियामा ज्यान गुमाएका युवाको शव अस्पतालमै अलपत्र

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ९:२३ मा प्रकाशित

खोटाङ, १७ मंसिर– नुहाउने क्रममा चिप्लिएर मलेसियामा ज्यान गुमाएका खोटाङका एक युवाको शव अस्पतालमै अलपत्र परेको छ ।

गत मङ्सिर २ गते बाथरुममा लडेर ज्यान गुमाएका माक्पा–३ बेप्लाका २१ वर्षीय खुशीमान राईको शव अस्पतालमै अलपत्र परेको हो ।

मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत खुशीमानलाई लडेलगत्तै साथीले अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको थियोे ।

रोजगारीको सिलसिलामा छ महिनाअघि मलेसिया पुगेका खुशीमानको शव परीक्षण गरेर आफन्तलाई जिम्मा नलगाएका कारण अलपत्र परेको उनका साथी प्रदीप राईले जानकारी दिए ।

ऋण काढेर मलेसिया पुगेका राईको छ महिना नबित्दै उतै ज्यान गएपछि आफूहरुको विचल्ली भएको परिवारले जनाएको छ । कार्बन ओभरसिज कम्पनी काठमाडौँमार्फत मलेसिया पुगेका मृतक राईको आमा, चार दिदी र एक दाजु छन् ।

दाजु हाल मलेसियामा नै कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us