
काठमाण्डु, १७ मंसिर– विशेष अदालतले विद्यालयको रकम हिनामिना गरेका सप्तरी–१ जोगिमियाँ गाविस निवासी प्रधानाध्यापक नागेश्वर मण्डलबाट रु तीन लाख ५० हजार बिगो भराई सोही बराबरको जरिवाना र छ महिना कैद गर्ने फैसला गरेको छ ।
प्रधानाध्यापक मण्डलले उक्त विद्यालयको कक्षाकोठा र शौचालय निर्माणका क्रममा आर्थिक हिनामिना गरेकाले अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासले सो सजाय गर्ने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मण्डलले विद्यालयको कक्षाकोठा र शौचालय निर्माणका क्रममा रु नौ लाख हिनामिना गरेको दाबीसहित गत पुस २१ मा मुद्दा दायर गरेको थियो ।
रासस