
काठमाण्डु, १७ मंसिर– सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले निर्धारित समयमा सबैको अपनत्व हुने संविधान जारी गर्न मुख्य राजनीतिक दलसहितको राष्ट्रिय सरकार बनाउन सकिने बताएका छन् ।
राजधानीमा आयोजित एक अन्तक्र्रियामा मन्त्री रिजालले भने, ‘कार्यतालिकाले निर्धारण गरेको समयभित्र संविधान जारी गर्ने सर्तमा सबै राजनीतिक दलसहितको सरकार बनाउन हामी तयार छौँ ।’
संविधानसभाको निर्वाचनमा जाँदा आफूहरुले एक वर्षभित्र संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै सञ्चारमन्त्री रिजालले सोही प्रतिबद्धताअनुसार हामीले आफ्नो कर्तव्य भुल्न हुँदैन भन्दै त्यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बनाउँदाको समयमै सबै राजनीतिक दललाई सरकारमा सहभागी गराउन प्रयास गरिएको उल्लेख गर्दै उनले संविधान लेखन कार्यलाई पूरा गर्न सबैखाले त्याग गर्न सरकार तयार रहेको बताए ।
सञ्चारमन्त्री रिजालले संविधान निर्माणको प्रक्रियामा जाँदा थुप्रै चरण पार गर्नुपर्ने भएकाले त्यसलाई ध्यानमा राखेर संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्षले त्यस्तो प्रक्रियालाई अवरुद्ध गर्न नहुने धारणा राखे ।
पहिलो संविधानसभा पनि एमाओवादीकै कारण समाप्त भएको उल्लेख गर्दै उनले भने, ‘संविधान लेखनका प्रक्रियालाई अवरुद्ध गर्न पाइँदैन, संवाद समितिका सभापतिले प्रक्रियालाई बीचमा रोक्न हुन्न ।’
काँग्रेस र एमालेले संविधान निर्माणको प्रक्रियामा सहमतिका लागि आफ्ना साझा धारणा अगाडि बढाएको उल्लेख गर्दै उनले आफूहरुले दुई तिहाइको संविधान जारी गर्न जबर्जस्ती नगरेको दाबी गरे ।
रासस