महोत्तरीका दलित मुसहर विस्थापित हुँदै

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ६:५५ मा प्रकाशित

महोत्तरी, १७ मंसिर– अल्पसंख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेशा संकटमा पर्दै गएपछि महोत्तरीका दलित मुसहर क्रमशः विस्थापित हुँदै जान थालेका छन् ।

तराईका जंगली खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उतरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहर २०२० देखि २०३० सम्ममा सबै सुकुम्बासी बनिसकेको विज्ञहरु बताउँछन् ।

भूमिसुधार आएपछि गरिब निमुखा मुसहरले जोते भोगेको जग्गा पहाडबाट तराई झर्ने पैसावालले किने । त्यसपछि उनीहरु जंगलको सीमावर्ती इलाका खोलाको किनार वा कुनै जमिन्दारका रुपमा बस्ने थालेका थिए ।

पहाडबाट तराई बसाइँ सर्ने मानिसले जङ्गली खेतलाई खेतीयोग्य, कुलो लाग्ने र समथर बनाउनुपर्ने भयो । त्यसपछि मुसहरले उपयुक्त रोजगार पाए । गाउँ–गाउँमा खेतलाई खेतीयोग्य बनाउन मुसहरलाई माटो पुर्ने, बोक्ने र कुलो निर्माण गर्ने काम दिन थालियो ।

२०२१ देखि २०५० सालसम्म मुसहर आफ्नो परम्परागत पेसाबाट नै जीविकोपार्जन गर्न सक्षम थिए । तर त्यसपछि माटो काट्ने र बोक्ने काम अन्य जातिका मानिसले पनि गर्न थाले ।

शिक्षा, चेतना र गरिबीबाट आक्रान्त मुसहरले काम पाउन छाडे पनि कामको खोजीमा विदेशिन थाले र खेतीको कामका लागि विदेशिएका मुसहर जहाँ गयो त्यहीँ हराउन थाले ।

फूलकाहाँ गाविस मुसहर बस्तीका विष्णु सदा भन्नुहुन्छ ‘माटोको काम पाउन छोडेपछि जिल्लाका विभिन्न ठाउँमा आरा चिर्ने काम गरी जीविकोपार्जन गर्न थालेका छन् ।

स्वास्थ्य र शिक्षाको अभावमा पिछडिएका मुसहर समयमा खान नपाएर कहिले हैजाबाट कहिले कालाजारबाट बढी प्रभावित हुन्छन् ।

जाडोमा शीतलहर र गर्मीमा हैजा कालाजार इन्सेफ्लाइटिस मेनेनजाइटिसबाट पीडित हुने मुसहर बस्तीबाट ५०० मिटर टाढा स्वास्थ्य केन्द्र भए पनि उपचार गर्न जाँदैनन् ।

हाल महोत्तरीमा १५ हजार भन्दा बढी मुसहर रहेको जिल्ला विकास समितिको अनुमान रहेको छ । जिल्लाको धमौरा, बर्दिवास, फूलकाहाँ, गौशाला, जलेश्वर, लोहारपट्टि, सिंग्याही, सिमरदही, हत्तिसर्वा, औरही, हरिहरपुर हरिणमरीलगायतका क्षेत्रमा अत्यधिक मुसहरको बसोवास रहेको छ ।

आफ्नै संस्कार परम्परा भाषा र संस्कृति भएका मुसहर नेपालका आदिवासीमध्ये पुराना मानिन्छन् ।

भाषा संस्कृति  परम्परा थाम्ने नाममा गठित गैरसरकारी र सरकारी सङ्घ संस्थाबाट पनि मुसहर जातिको शैक्षिक विकास र स्वास्थ्य चेतना अभिवृद्धिका लागि ठोस काम नभएकाले यस जातिको संरक्षण गर्न स्थानीयस्तरबाट पहल हुनुपर्ने स्थानीय बासिन्दा बताउँछन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us