
सोलुखुम्बु, १७ मंसिर– आफ्नै सहकर्मी दुई जना शिक्षिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चिवाङ प्रावि सुर्के सल्लेरीका प्रधानाध्यापकलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ ।
गत मंसिर ८ गते विद्यालय सञ्चालन भइरहेको बेलामा आपसी विवाद हुँदा सहकर्मी शिक्षिका रमिला कार्की र सुशीला राईलाई कुटपिट गरी घाइते बनाएपछि प्रहरीले प्रधानाध्यापक रामकाजी राजभण्डारीलाई सोही दिनदेखि हिरासतमा राखिएको थियो ।
पीडितले दिएको जाहेरीको आधारमा प्रधानाध्यापक राजभण्डारीलाई मंगलबार सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घाइतेमध्ये सुशीला राई सामान्य रहेको र शिक्षिका रमिला कार्कीलाई टाउकोलगायत ढाडमा चोट लागेकाले उपचारका लागि फाप्लु अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि शिक्षिका र प्रधानाध्यापकबीचको विवाद सार्वजनिक भइरहेको सो विद्यालयमा त्यस दिन शिक्षिकाले आफू माथि हातपात गरेपछि आफूले प्रतिकार गरेको प्रधानाध्यापकले बताएका छन् भने शिक्षिका रमिला कार्कीले आफू कक्षामा पढाइरहेको बेला एक्कासी प्रधानाध्यापकले आक्रमण गरेको बताइन् ।
रासस