भारतबाट आएका नेपाली मजदुर सीमानामै लुटिए

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ४:५३ मा प्रकाशित

भीमदत्तनगर, १७ मंसिर– भारतबाट आउँदै गरेका ६ जना नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका छन् । मजदुरी गरेर घर फर्किरहेका नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका हुन् ।

गत तीन दिनमा छजना लुटिएको उनीहरुलाई सहयोग गर्ने सहारा समूह नेपालका राजबहादुर चौधरीले बताए । आइतबार भारतको सिमलाबाट फर्किएका जाजरकोटको झाप्रा गाविस–२ का १७ वर्षीय ललित शाही र २० वर्षीय जयबहादुर शाही लुटिएका हुन् । दुवै जनाबाट २०/२० हजार रुपैयाँ लुटिएको बताएका छन् । नास्ता खाएर सुतेको अवस्थामा लुटिएको उनीहरुले बताएका छन् ।

त्यस्तै सोमबार जाजरकोटकै खक्यानकोट गाविस–५ का १९ वर्षीय भुपेन्द्र थापा र १५ वर्षीय प्रेम राना मगर लुटिएका छन् । भारतको उत्तराखण्डस्थित जोसिमठबाट काम गरेर घर फर्कँदै आएका थिए । प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार उनीहरुसँग भएको २० हजार रुपैयाँ पनि लुटिएको हो ।

यसैगरी मंगलबार जाजरकोटकै झाप्रा गाविस–१ का १५ वर्षीय रवीन्द्र नेपाली र प्रकाश नेपाली पनि लुटिएको प्रहरीले जनाएको छ । भारतको रिमाबाट काम गरेर घर फर्किरहेका उनीहरु हल्द्वानी बसपार्कमा लुटिएको बताएका छन् । उनीहरुसँग भएको १२ हजार रुपैयाँ पनि लुटिएको प्रहरीले जनाएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us