ओलीले कुराए शीर्ष नेतालाई सिंहदरबारमा डेढ घण्टा

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ३:५५ मा प्रकाशित

kp oliकाठमाण्डु, १७ मंसिर– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख तीन दलका शीर्ष नेतालाई सिंहदरबारमा झण्डै डेढ घण्टा कुराएका छन् ।
सत्तासाझेदारीसहित संविधान लेखनका विषयमा छलफल गर्न भन्दै बुधबार बिहान सिंहदरबारमा तीन दल बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराई लगायतका नेता पूर्वनिर्धारित समयमै बिहान ८ बजे सिंहदरबार पुगे ।

तर ओली नआएपछि शीर्ष नेता अनौपचारिक गफगाफ गर्दै कालो चिया खाएर बसे ।
बिहान ८ बजे आउनुपर्ने ओली सवा ९ बजेतिर मात्र सिंहदरबार छिरे । यसअघि शीर्ष नेताको गोकर्णमा बसेको आवासीय बैठकमा ओलीले दिनभर कुराएका थिए ।
ओली पुगेपछि सुरु बैठकमा एकीकृत माओवादीसहित मधेसी मोर्चासमेतको सत्तासाझेदारीबा विषयमा छलफलको छ ।
संविधान निर्माणको समयसीमा माड ८ आउन डेढ महिना मात्र बाँकी रहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले सत्ता साझेदारीको प्रस्ताव अघि सारेपछि दलहरुले संविधानका कुरा छाडेर सत्ता बाँडफाँडका विषयमा छलफल थालेका छन् ।

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले संविधानसहित सबै विषयमा प्याकेजमा सहमति भए सरकारमा सामेल हुन तयार रहेको बताएको छ । तर त्यसका लागि काँग्रेस–एमाले गठबन्धनमा बनेको वर्तमान सरकार विघटन हुनुपर्ने सर्त उसको छ ।

प्रधानमन्त्री कोइराला भने माओवादी र मधेसी दललाई समेत ल्याएर आफ्नै सरकारलाई राष्ट्रिय स्वरुप दिने दाउमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us