सरकारी जग्गा अतिक्रमण गरी घर–टहरा निर्माण

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते २:३४ मा प्रकाशित

म्याग्दी, १७ मंसिर– जिल्लाको बेनी नगरपालिकामा सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउन थालेका छन् । बेनी नगरपालिका–४ बगरफाँट र खबरामा सरकारी जग्गा अतिक्रमण गरेर घर–टहरा बनाउने क्रम सुरु भएको र अहिलेसम्म १० वटाभन्दा बढी घर–टहरा निर्माण भइसकेको बताइएको छ ।

बगरफाँटको बांगेरामा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर केही व्यक्तिले घडेरीको खरिद बिक्रीसमेत गरेका छन् भने तीन वटा घर निर्माण भइसकेको स्थानीयले जानकारी दिएका छन् ।

उनीहरुले दिएको जानकारीअनुसार यसरी घरटहर बनाउनेमा जिल्ला सुकुम्बासी आयोगमा जग्गा पाउनका लागि निवेदन दिने पनि रहेका छन् । उनीहरूले आफूलाई अव्यवस्थित बसोबासीका रूपमा देखाइ सार्वजनिक र सरकारी जग्गा हडप्न लागेको स्थानीयको भनाइ छ ।

त्यसैगरी वेनपा–३ भकुण्डेचौरमा पनि सरकारी जग्गा अतिक्रमण भएको छ । बजार बिस्तारै हुँदै गरेको भकुण्डेमा सार्वजनिक जग्गा कब्जा गरी केही टाठाबाठा व्यक्तिले घर निर्माण गरेका स्थानीयले बताएका छन् । यता बगरफाँट सामुदायिक वन र खड्ग भवानीकोतको गुठी जग्गासमेत तीव्र रुपले अतिक्रमण भइरहेको बताइएको छ ।

सरकारी जग्गा स्थानीय केही व्यक्तिले बिक्रीसमेत थालेको जानकारीमा आएको छ । पछिल्लो समय सुकुम्बासी आयोगबाट दर्ता गराएर ल्याउने भन्दै एक हातको रु पाँच हजारदेखि १५ हजारको दरमा सरकारी जग्गा धमाधम बिक्री भइरहेको स्थानीयको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us