
काठमाण्डु, १७ मंसिर– सडक विभागका महानिर्देशकको स्वागतमा लाखौं खर्चेर भव्य भोज गरिएको छ । नयाँ महानिर्देशक माधव कार्कीको स्वागतमा कर्मचारीहरुसँग पैसा असुलेर सोमबार महँगा मदिरासहितको भोज आयोजना गरिएको हो ।
कार्की तीन साताअघि महानिर्देशक भएका थिए । उनको स्वागतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलालाई अतिथि बनाएर भोज आयोजना गरिएको थियो । झन्डै दुई सय कर्मचारी उपस्थित भोजमा करिब पाँच लाख रुपैयाँ खर्च भएको स्रोत बताउँछ । भोजमा व्ल्याक लेबल र रेडलेवललगायतका महँगा रक्सी मात्र सर्भ गरिएको थियो ।
लैनचौर ब्याक्वेटमा आयोजित भोजका लागि कर्मचारीहरुसँग तीनदेखि पाँच हजार रुपैयाँ उठाइएको थियो । देशभरका सडक डिठभिजन कार्यालयका प्रमुख तथा इन्जिनियरहरुबाट पैसा असुलिएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार सडकका विभिन्न प्रमुख र डिभिजन इन्जिनियरसँग पाँच हजार, सिनियर इन्जिनियरसँग चार हजार र अन्य इन्जिनियरसँग तीन हजारका दरले पैसा उठाइएको थियो ।
नयाँ पत्रिका दैनिकबाट