
काठमाण्डु, १६ मंसिर– ब्रेन ट्युमरबाट पीडित नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीलाई उपचार सहयोगका लागि युनियन केन्द्रीय समितिले आज रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
अचानक बिरामी भएर अस्पताल भर्ना हुनुभएका पत्रकार क्षेत्रीको स्वास्थ्य परीक्षणका क्रममा ब्रेन ट्युमरको पहिचान भएको थियो । सघन उपचार कक्षमा उपचाररत पत्रकार क्षेत्रीलाई युनियन केन्द्रीय समितिले रु ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
काठमाण्डुमा उपलब्ध युनियनका केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मंगलबार बसेको बैठकले क्षेत्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सचिव क्षेत्रीको अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलसहित कार्यसमिति र युनियनका सल्लाहकार, शुभेच्छुक अस्पताल पुगेका थिए ।
साथै नेपाली काँग्रेसका महामन्त्री तथा उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंह सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजाल, नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेर क्षेत्रीको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
उपचारमा संलग्न वरिष्ठ स्नायुरोग विशेषज्ञ डा बसन्त पन्तका अनुसार क्षेत्रीको थप परीक्षणपछि बुधबार) नै ब्रेन ट्युमरको शल्यक्रिया गरिनेछ ।