नेम्वाङले भने, ‘दलहरुको झगडा देखेर मलाई हाँसो उठ्छ’

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १३:०१ मा प्रकाशित

subash nembangकाठमाण्डु, १६ मंसिर– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रक्रियामा गए पूर्वनिर्धारित समय माघ ८ भित्र संविधान नबन्ने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले संविधान बन्ने एक मात्र आधार दलीय सहमति भएको बताए ।

नियमावली संसोधनदेखि  संविधानका अन्तरवस्तुमा दलीय सहमति हुनैपर्ने उनको भनाइ थियो । नेम्वाङले प्रक्रियामा गएर संविधान जारी गर्न कम्तिमा चार महिना लाग्ने भन्दै उनले संविधानका विवादमा तत्काल सहमति खोजेर अघि बढ्न सुझाव दिए ।

सत्तारुण् काँग्रेस–एमालेले प्रक्रियामै गएर सहमति संविधान जारी गर्ने अडान लिइरहेका बेला उनको यस्तो भनाइ बाहिर आएको हो ।

‘प्रक्रियामा गएर संविधान जारी गर्ने हो भने कम्तिमा ४ महिना लाग्छ’, नेम्वाङले भने, ‘तोकिएकै समयमा संविधान जारी गर्ने हो भने दलहरुबीचको सहमति नै एक मात्र विकल्प हो ।’

सभाध्यक्ष नेम्वाङले संवैधानिक–राजनीतिक तथा संवाद समितिमा दलहरुबीच देखिएको विवादलाई अनावश्यकको संज्ञा दिए । उनले संवाद समितिमा भएको विावदले आफूलाई हाँसो लाग्ने गरेको उल्लेख गरे ।

‘दलहरुले अनुसूची र तपशीलका विषयमा झगडा गरेको देख्दा मलाई हाँसो लाग्छ’, उनले भने, ‘दुवै पक्षका लागि धेरै विकल्प छन्, प्रक्रिया पनि धेरै नै बाँकी छ, तर दलहरु झगडा गरेर बसेका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us