विप्लवलाई गोपाल किराँतीको सुझाव, ‘काँग्रेसलाई मात्र किन ? एमालेलाई पनि नछाड’

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १२:४७ मा प्रकाशित

Gopal_Kiratiकाठमाण्डु, १६ मंसिर–एमाओवादी नेता गोपाल किरातीले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग्गिएर नयाँ पार्टी घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई काँग्रेसतिर मात्र नभई एमालेतिर पनि निशाना सोझ्याउन आग्रह गरेका छन् ।
किरातीले काँग्रेस र एमाले दुवैले माओवादीहरुलाई हेपेको र अपमान गरेको भन्दै बराबर निशाना लगाउन आग्रह गरेका छन् ।

‘विप्लवजीले नयाँ पार्टी गठन गर्नुभयो भन्ने सुनेपछि मैले फोन गरेर सोधें निशाना कतातिर हो ?, उहाँले एनसी (नेपाली काँग्रेस)  भन्नुभयो’, किराँतीले काठमाण्डु टुडेसँग भने, ‘यूएमए’ (एमाले) लाई पनि नछाड्नुस् भन्ने सुझाव दिएँ ।’

परिवर्तनका एजेण्डा सखाप पारेर मुलुकलाई पश्चगमनको यात्रामा फर्काउन लागिपरेकाले काँग्रेस–एमाले दुवै नेपाली जनताका दुश्मन भएको किराँतीको ठहर छ ।
नयाँ पार्टी घोषणा गर्न सोमबार राजधानीमा भएको कार्यक्रममा चन्दले पूर्वसहमतिविपरीत एक्लै हिंडेकाले काँग्रेसलाई आफूहरुले प्रमुख दुश्मनका रुपमा हेरेको बताएका थिए ।

उनले ज्ञानेन्द्रले जेलमा हालेका बेला माओवादी खोज्दै रोल्पा पुगेको काँग्रेसले आफूहरु काठमाण्डु आएपछि गुण बिर्सिएको र माओवादी आन्दोलन र त्यसका एजेण्डाहरु सखाप पार्न लागिपरेको टिप्पणी गरेका थिए ।
किराँतीले क्रान्ति गर्छु भनेकाले विप्लवलाई शुभकामना दिनुपर्ने बताए । तर विप्लवको नेतृत्वमा हुने भनिएको विद्रोहमा बलिदान हुने तर क्रान्ति नहुने उनको टिप्पणी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us