
काठमाण्डु, १६ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको एक विद्यालयमा सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार बारा इनर्वामाल–७ स्थित इनर्वा प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक साह तेली, प्रधानाध्यापक अरुणकुमार यादव, लेखा अधिकृत विश्वनाथ जयसवाल, प्राविधिक सवइन्जिनियर सुरेश साहविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार अध्यक्ष तेलीले रु १३ लाख ४४ हजार १००, प्रअ यादवले रु १३ लाख ४४ हजार १००, लेखा अधिकृत जयसवालले रु सात लाख दुई हजार ७९६ र सव इन्जिनियर साहले रु पाँच लाख ५० हजार अनियमितता तवरले हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले आव २०६६÷६७ देखि आव २०६७÷६८ सम्म सरकारबाट प्राप्त रकम भुट्टा विवरण पेस गरेको, लेखा परीक्षणसमेत नभएकाले बिगोसमेत असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी सर्लाही कर्मैया–५ सिथत सुकेपोखरी स्रोत केन्द्रअन्तर्गत पशुपति प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत व्यक्तिको मिलेमतोमा झोले विद्यालय खडा गरी रकम दुरुपयोग गरेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आव २०६५÷६६ देखि आव २०७०÷७१ सम्म विद्यालयको नाममा प्राप्त भएको रु १५ लाख ६३ हजार ९३ रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
सो विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षद्वय शिवबहादुर खड्का र लम्बोदर काफ्ले, वर्तमान अध्यक्ष पूर्णबहादुर पाण्डे, प्रधानाध्यापक विमला सिवाकोटी र स्रोत व्यक्ति नारायणनाथ उप्रेतीले झोले विद्यालयको नाममा सरकारी स्रोत दुरुपयोग गरेकाले बिगोसमेत असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रासस