पर्सा, १६ मंसिर– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले तत्काल स्थानीय निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । संघीयता र राज्य पुनःसंरचनाको विवाद टुंगोमा नपुगेकै बेला नेता नेपालले स्थानीय निर्वाचन गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेका हुन् ।

‘स्थानीय निकायको निर्वाचनले सङ्घीयतालाई झनै बलियो बनाउँछ, तसर्थ सरकालेर तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्छ,’ नेपालले भने ।
प्रेस चौतारी पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै नेता नेपालले माघ ८ मा संविधान जारी गर्नुको विकल्प नभएको पनि जिकिर गरे । उनले आर्थिक रूपमा जर्जर अवस्थामा पुगेका कारण संविधानका लागि धेरै वर्ष कुरिरहनु उपयुक्त नहुने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नलिइकनै नेता नेपालले माघ ८ मा नै संविधान आओस् भन्ने पक्षमा विदेशी शक्ति पनि रहेको चर्चा गरे ।
उनले जातीय आधारमा र धर्मको आधारमा मुलुक सङ्घीयतामा जान नसक्ने भन्दै जात र धर्मको कुरा निकै संवेदनशील भएकाले यस्ता विषयमा राजनीति नगर्न अन्य दललाई आग्रह समेत गरे ।
आफूहरू सहमति हिसाबमा मुलुकमा संविधान जारी होस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै नेता नेपालले सहमति नभए प्रक्रियाबाट वा नियमअनुसार संविधान जारी हुने दाबी गरे ।