दुई थान पेस्तोलसहित दुई युवक पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते ५:१५ मा प्रकाशित

गौशाला, १६ मंसिर– महोत्तरी जिल्लाको महोत्तरी गाविसमा गएराति दुई थान पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी गाविस–९ सनोखरा बस्ने २० वर्षीय रहमतुल्ला नदाफ र वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो । पक्राउ परेका युवकको साथबाट दुई थान अमेरिकन पेस्तोल, चार राउन्ड गोली र दुई थान साइकल बरामद भएको प्रहरी उपरीक्षक राणाले बताए ।

युवकले हतियार ओसारपसार गर्ने गरेको सुराकीका आधारमा अञ्चल प्रहरी कार्यालय जनकपुरबाट खटिआएको विशेष प्रहरी टोलीले गएराति ७ बजे जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत पिपरा बजारबाट घर जाँदै गरेको अवस्थामा महोत्तरी गाविस–१ स्थित पर्सा पुलबाट दुवै युवकलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकसँगै रहेका अर्का साथी स्थानीय सिकिन्द्र पासवान प्रहरीलाई देख्ने बित्तिकै भागेका छन् । पक्राउ परेका युवकमध्ये रहमतुल्ला नदाफ महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित अलहेब्स बोर्डिङ हाई स्कुलमा कक्षा १२ मा अध्ययनरत रहेका छन् ।

पक्राउ परेका दुवै युवकलाई अञ्चल प्रहरीका विशेष प्रहरी टोलीले आवश्यक अनुसन्धानका लागि आफूसँगै जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us