
म्याग्दी, १६ मंसिर– विद्यालयको खर्च अभिभावकले जुटाउन नसकेपछि म्याग्दीको तोराखेतका बालबालिका दाउरा बेचेर विद्यालयको खर्च धान्न थालेका छन् । बिपन्न परिवारका तीन दर्जनभन्दा बढी बालबालिका बिहानीको झिसमिसेमै पिठयूँमा दाउराको भारी बोक्दै भकुण्डेचौर, सिंगा तातोपानी र बेनीबजारका होटेलमा दाउराका भारी बेच्दै गरेको देख्न सकिन्छ ।
पहिरोका कारण विस्थापित बनेका तोराखेतका १७ घर दलित परिवारका बालबालिका दाउरा बेच्न थालेका छन् । विस्थापित लहरेनी, बगरफाँट र भकुण्डे गाउँमा बस्दै आएका छन् । उनीहरुका बालबालिका पायक पर्ने नजिकको बजारमा दाउरा बेच्ने गर्दछन् ।
घरखर्च चलाउन अभिभावकको पैसाले ठिक्क हुने भएपछि विद्यालयमा चाहिने कापी, कलम, किताब र पोसाकका लागि बालबालिका आफैं वनबाट दाउरा बटुलेर बेच्दै आएका छन् ।
‘दाउरा बेच्नु रहर नभएर बाध्यता हो’, लहरेनीकी १४ वर्षीया कमला विकले भनिन्, ‘पढ्नु छ भने आफैं कमाएर पढ भनेर अभिभावकले भनेएपछि दाउरा बेच्दै छु ।’ दैनिक एक सय रुपैयाँमा दाउराको भारी बेचेर कमाउन थालेको उनले बताइन् ।
साँझ विद्यालयबाट फर्केपछि यहाँका बालबालिका वनमा दाउरा बटुल्छन् भने बटुलेको दाउरा बिहानीपख बेचेपछि घर फर्केर विद्यालय पुग्ने गरेको अर्जन उच्चमाविका शिक्षक नवीन घिमिरेले बताए ।
दाउरा बेचेर आफैं विद्यालयको खर्च बेहोर्ने बालबालिकाले बचेको पैसा अभिभावकलाई दिने गरेको बताए । पाँच वर्षदेखि दाउरा बेचेर पढाइलाई निरन्तरता दिँदै आएकी सपना परियारले दाउरा बेच्नुको पीडा सुनाउँदै भनिन्, ‘घरमा कमाउने बुबा छैनन्, आमालाई सघाउ पुर्याउन र विद्यालयको खर्च पूरा गर्न दाउरा नबेचेर के गर्नु ?’
सामुदायिक वनबाट दाउरा ल्याउनु पर्ने हुँदा सधैं गाउँलेको आँखा छिचोल्दै दाउरा जम्मा गर्नुपर्दा र बेच्ने बेलामा साहुसँगको मोलमोलाई गर्दा पढाइ नै छाडेर मजदुरी गर्न मन लाग्ने यी बालबालिकाले बताए । दाउरा बेच्नेमा अधिकांश बालिका रहेका छन् । रासस